बैशाख १ गतेबाट ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने दिनेश डीसीको घोषणा

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले वैशाखको १ गतेबाट ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने बताएका छन् । बुधबार आयोजना भएको एक कार्यक्रममा बोल्दै डीसीले भने–‘बैशाख १ गतेबाट ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सम्बन्धित निर्माताले कुनै पनि समयमा बक्स अफिस देखाउन सक्ने गरी लागू हुनेछ ।’

उनै, डीसीले आफ्नो कार्यकालमा मुख्य तीन वटा काम गर्ने बताए । उनले भने–‘चलचित्र ऐन संसदको बर्खे अधिवेशनमा विशेष समय लिएर हामी पास गर्नेछौँ । राजा महेन्द्रले वि.सं २०२६ सालमा दिनुभएको ऐनले फिल्म क्षेत्रको हित गर्दैन । नयाँ ऐन आगामी ६ महिना भित्र पास हुनेछ । दोस्रो कुरा, हामीसँग स्टुडियो छैन । ४२ रोपनीको सागाको जग्गामा बन्ने फिल्म स्टुडियोको डिसेम्बरमा हामी शिलान्यास गर्दैछौं । डेढ बर्ष भित्रमा त्यसको उद्घाटन हुनेछ ।’

डीसीले चलचित्र विकास बोर्डमा आफ्नो कार्यकाल भित्र यी तीन कामलाई मुख्य प्राथमिकतामा राखेको बताए । अन्य कामहरू विकास बोर्डको अध्यक्षको कुर्सीमा कोही नबसे पनि हुने उनको भनाई थियो ।