गरिमा भन्छिन्–‘रोएरै मनको पीडा हलुका बनाउँछु’
भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’लाई लिएर नायिका गरिमा शर्मा उत्साहित छिन् । यो फिल्मले राम्रो व्यापार गरेको खण्डमा आफ्नो करिअर पनि सुखद तरिकाले अगाडि बढ्ने उनको विश्वास छ ।
गरिमाले मेरो फिल्मसँगको कुराकानीमा भनिन्–‘मैले लण्डन टू पेरिसमा १० प्रतिशत अभिनय गरेकी थिएँ भने ह्रस्व दीर्घमा ९० प्रतिशत अभिनय गरेकी छु । यो फिल्मबाट दर्शकले मलाई अभिनयमा रुचाउनुहुन्छ भन्ने विश्वास लागेको छ । फिल्ममा मेरो भूमिका महत्वपूर्ण छ । हलबाट निस्कँदा दर्शकले मलाई याद गर्नुहुन्छ ।’
गरिमाले फिल्म भित्र आफ्नो भूमिका के हो भन्ने बिषयमा अहिले नै खुलाउन नमिल्ने बताइन् । तर, फिल्मको कथावस्तुले दर्शकलाई बाँधेर राख्ने उनको तर्क छ ।
गरिमाले आफूलाई करिअरको दौडमा केही फिल्म र विज्ञापनबाट निकालिएको खुलासा समेत गरिन् । भनिन्–कहिलेकाही निकै दिक्क लाग्छ । म निकै रुन्छु । सायद, म नरुने हो भने डिप्रेशनमा गइसक्थे होला । रोएर मैले आफूलाई कन्ट्रोल गर्छु ।’
गरिमाले फिल्म र विज्ञापनका लागि अफर आउने तर पछि आफूलाई किन निकालिएको हो भन्ने थाहा समेत नपाउने अवस्था रहेको पनि सुनाइन् । यस्तो किन हुन्छ त ? गरिमा भन्छिन्–‘धेरैले म घमण्डी छु भनेर बुझ्नुहुन्छ । सायद, यसैले अफर आएको केही समयपछि मेकरको ध्यान मोडिन्छ होला ।’
प्रतिक्रिया