विश्व बजारबाट ‘पुर्ण बहादुर सारङ्गी’को कमाई ४५ करोड

नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘पुर्ण बहादुरको सारङ्गी’को नाममा गएको छ । यो फिल्मले रिलिजको १४ दिनमा विश्व बजारबाट ४५ करोडको कमाई गरेको निर्माण कम्पनीले जानकारी दिएको छ । 

बुधबार आयोजित फिल्मको विशेष शोमा निर्माण कम्पनी सेभेन सिजले फिल्मले नेपालमा २५ करोडको ग्रस कलेक्शन गरेको जानकारी दियो । यस्तै, ओभरसिजमा फिल्मले २० करोडको ग्रस कलेक्शन गरेको जानकारी निर्माणपक्षले दिएको छ । 

योसँगै फिल्मले नेपालमा ‘१२ गाउँ’ले बनाएको २५ करोड ५० लाखको ग्रस कलेक्शनको रेकर्डलाई पनि तोडेको छ । फिल्मले भोलि शुक्रबारसम्म नेपालबाट मात्र ३० करोड माथिको कलेक्शन गर्ने पक्का देखिएको छ । 

विनोद पौडेल र प्याट्रिक सुवेदीले मिलेर बनाएको यो फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन छ । फिल्ममा विजय बराल, मुकुन भुसाल, वुद्दि तामाङ, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।