‘कबड्डी ४’को रेकर्ड ब्रेक गर्दै ‘पुर्ण बहादुरको सारङ्गी’ले रच्यो इतिहास
बक्स अफिसमा कात्तिकको १५ गतेबाट रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले नयाँ इतिहास रचेको छ ।
यो फिल्मले बक्स अफिसमा आइतबारसम्म २० करोडको हारहारीमा व्यापार गरेको प्रक्षेपण छ । फिल्मले दोस्रो साताको शनिबार भने नयाँ इतिहास रचेको हो ।
दोस्रो साताको शनिबार यो फिल्मले बक्स अफिसमा ३ करोड ८९ लाखको ग्रस कलेक्शन गरेको हो । यो हालसम्म रिलिज भएका कुनै पनि नेपाली फिल्मले एकै दिनमा कमाएको सर्वाधिक ठूलो आँकडा हो । यसअघि यो रेकर्ड ‘कबड्डी ४’सँग थियो, जसले रिलिजको पहिलो दिन २ करोड ९० लाखको ग्रस कलेक्शन गरेको थियो ।
यो फिल्मले दोस्रो साताको शनिबारसम्म १७ करोड ९८ लाखको ग्रस कलेक्शन गरेको छ । फिल्मले यसअघि बनेका सबै फिल्मको रेकर्डलाई ब्रेक गर्ने पक्का देखिएको छ । फिल्म ‘१२ गाउँ’ले बनाएको २५ करोड ५० लाखको आँकडालाई यो फिल्मले केही दिनमै तोड्ने देखिएको छ ।
सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी यो फिल्मका निर्माता हुन् ।
प्रतिक्रिया