‘पुर्ण बहादुरको सारङ्गी’को कथा चोरिएको आरोप


बक्स अफिसमा ब्लकबस्टर व्यापार गरिरहेको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ माथि कथा चोरिएको आरोप लागेको छ । सन् २०२० मा सार्वजनिक भएको उपन्यास ‘सङ्ग्रामपुर’को कथासँग यो फिल्मको कथा मिलेको आरोप लागेको हो । उपन्यासका लेखक डाक्टर शिव शंकर बस्यालले फिल्म हेरपछि सामाजिक संजालमा स्टाटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको भन्दै ९ बुँदे तर्क समेत पेश गरेका छन् । 

उपन्यासका लेखक बस्यालले पेश गरेका ९ बुँदा यस्ता छन् :

१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलमात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !

२. पूर्ण बहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।

३. छोराको पालनपोषणमा दिलोज्यान मरि मेटी पूर्ण बहादुरको शैली रुपमान सङ मिल्दा छन्।

४. आमाको रहस्यमय कथा पूर्ण बहादुरका अगाडि कमलले सोधे जस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।

५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन ।

 ६. पूर्ण बहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु।

त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्ण बहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।

७. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्ण बहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।

८. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजे जस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।

९. रुपमानकै जोर जबर्जस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्ण बहादुरकै जबर्जस्तीले कमल मेडिकल पढ्न जानु।

यी यी त कथाका मूल प्रसङ्गहरू हुन्। यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँ भित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।

सामाजिक संजालमा कथा चोरिएको बिषयमा चर्को बहस हुन थालेपछि फिल्मका निर्माता विनोद पौडेलले पनि जवाफ दिएका छन् । उनले लेखेका छन्–‘यो फिल्मको सुन्दरता भनेकै यो कथा आफ्नो लाग्नु हो । रेकर्डमा रेकर्ड हुँदैछ, अब चलखेल सुरु हुँदैछ । तर, हामीलाई दर्शकको साथ छ बाँकी त हामी अरूलाई टेरिँदैन ।’

उनले अगाडि लेखेका छन्–‘हाम्रो कथा साधारण छ, सायद हल्काफुल्का मिल्न पनि सक्ला । यो कथा यही समाजको हो । तर, यो चोरीको आरोप नलगाम न हो । यदि त्यस्तो लाग्छ भने प्रतिलिपि ऐनमा जानुहोस् । यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फन्डा र फिल्मलाई हानी पुर्याउने षड्यन्त्र हो ।’

सरोज पौडेलको कथा, महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्मले बक्स अफिसमा इतिहास रचिरहेको छ । फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।