‘बोक्सी’ हुँदैन भन्ने कथामा ‘अग्नीदहन’
मंसिरको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अग्नीदहन’को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणी पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको यो फिल्मको ट्रेलरले दर्शकको सुखद प्रतिक्रिया पाइरहेको छ ।
यो फिल्मले बोक्सीको कथा भन्छ । एक महिला नाच्दै गर्दा अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको मानसिक यातनालाई ट्रेलरमा समेटिएको छ ।
यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको लामिछानेले जानकारी दिए ।
यो फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डाक्टर निर्मल लामिछाने, तारा बहादुर गुरुङको अभिनय छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको फिल्ममा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, दीर्घ गुरुङ छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
प्रतिक्रिया