१० करोडको व्यापार, अब गाह्रो छैन

नेपाली फिल्मले बक्स अफिसमा कति कमाउन सक्छ भन्ने उदाहरण यो बर्ष रिलिजमा आएका ‘१२ गाउँ र पूर्ण बहादुरको सारङ्गी’ बन्ने देखिएको छ । फिल्मले दर्शकलाई हलसम्म आकर्षित गर्न सकेको खण्डमा व्यापारिक रुपमा थुप्रै रेकर्डहरु तोडिन्छन् भन्ने पनि पुष्टि भएको छ ।

कुनै बेला ‘छक्का पन्जा ३’ले बनाएको १९ करोडको व्यापार दर्शकका लागि दुर्लभ लाग्थ्यो । तर, यो रेकर्डलाई ‘कबड्डी ४’ले उछिन्यो । यो फिल्मले २२ करोडको ग्रस कलेक्शन गरेको बताइएको छ । यसपछि, यो रेकर्डलाई कसले उछिन्छ होला भन्ने बहस पनि भए । २२ करोडको व्यापार सहजै हुँदैन भनेर धेरैले अनुमान पनि गरेका थिए । 

तर, यो बर्ष नै यो रेकर्ड तोडियो । फिल्म ‘१२ गाउँ’ले २५ करोड ५० लाखको व्यापार गरेको वितरक गोविन्द शाहीले सार्वजनिक गरेको आँकडामा उल्लेख छ । अब, यो रेकर्ड पनि संकटमा देखिएको छ ।

रिलिजको ८ दिनमै १० करोड माथिको व्यापार गरिसकेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले यो रेकर्ड तोड्ने प्रक्षेपण भइरहेको छ । यसरीहेर्दा, बक्स अफिसमा ७ महिनामै ३ वटा फिल्मले २० करोड माथिको कलेक्शन गर्ने पक्का जस्तै छ । 

यसो भनिरहँदा नेपाली फिल्म क्षेत्रका लागि कोशेढुंगा जस्तै मानिएको १० करोडको ग्रस कलेक्शन अब सहज हुन थालेको छ । एकपछि अर्को फिल्मले यो आँकडालाई पार गर्न थालेका छन् । यो बर्ष मात्र ‘बोक्सीको घर, छक्का पन्जा ५, १२ गाउँ र पूर्ण बहादुरको सारङ्गी’ले यो आँकडा पार गरिसकेका छन् । 

गतबर्ष रिलिजमा आएका ‘दिमाग खराब, महाजात्रा’ लगायतका फिल्मले पनि १० करोडको आँकडा पार गरेका थिए । यसअघि केही फिल्मले मात्र यो आँकडा पार गरेकोमा यो बर्ष त ४ वटा फिल्मले यो आँकडा पार गरिसकेका छन् । 

उसो त थुप्रै निर्माता, निर्देशक र कलाकारका लागि अझै पनि १० करोडको व्यापार टाढा जस्तै देखिएको छ । तर, दर्शकको मन छुने फिल्म बनाउने र सोही अनुसारको मार्केटिङ गर्न सक्ने हो भने १० करोडको आँकडा सहज हुने देखिन्छ ।