ब्लकबस्टर फिल्म, तर ओझेलमा नायिकाहरु
फिल्म ‘बोक्सीको घर’ले ब्लकबस्टर व्यापार गर्दा नायिका तथा निर्मात्री केकी अधिकारी एकलौटी छाइन् । अभिनयका हिसाबले त उनको भन्दा बाल–कलाकार सुपला सापकोटाको चर्चा बढी भयो । तर, केकी आफै लगानीकर्ता भएकाले पनि हाबी भइन् ।
यसपछि, यो बर्ष अन्य ३ वटा फिल्म ब्लकबस्टर भइसकेका छन् । तर, फिल्म ब्लकबस्टर हुँदा नायिकाहरू भने ओझेलमा देखिएका छन् ।
फिल्म ‘छक्का पन्जा ५’ले २० करोडको आँकडा पार गरिसकेको छ । फिल्मले २० करोड कमाइरहँदा नायिका वर्षा सिवाकोटीको चर्चा जुन तरिकाले हुनुपर्ने हो त्यो अनुसार भएन ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे नै हाबी भए । फिल्ममा वर्षाको भूमिका महत्वपूर्ण छ । तर, उनी खासै चर्चामा रहिनन् । वर्षाको अभिनयले पनि खासै चर्चा पाएन । वर्षाका लागि ब्लकबस्टर फिल्ममा काम गरे है भन्नु भन्दा बाहेक अरु उपलब्धि देखिएन ।
यो बर्ष फिल्म ‘१२ गाउँ’ ब्लकबस्टर भयो । फिल्म अहिले पनि हलमा चलिरहेको छ । तर, यो फिल्मका नायिकाहरू भने खासै चर्चामा रहेनन् । यो फिल्मबाट नायिकाद्धय न्यान्सी खड्का र सनिसा भट्टराईले फिल्म क्षेत्रमा पाइला राखे । न्यान्सी फिल्मका निर्देशक विराज भट्ट र नायक समीर भट्टको साथमा हलमा खुबै पुगिन् । तर, उनको भूमिकाले दर्शकलाई त्यति प्रभाव पारेन ।
म्युजिक भिडियोमा चम्किएर फिल्म क्षेत्रमा प्रवेश गरेकी सनिषाबाट दर्शकलाई ठुलै आशा थियो । तर, फिल्ममा बलियो भूमिका नहुँदा सनिसा पनि ओझेलमा परिन् । फिल्मबाट सबैभन्दा बढी फाइदा नव–नायक समीर भट्टलाई भयो ।
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ अहिले हलमा चलिरहेको छ । फिल्मले बक्स अफिसमा आक्रामक कमाइलाई जारी राखेको छ । यो फिल्ममा नायिका अन्जना बराइली मुख्य भूमिकामा छिन् । तर, फिल्ममा काम गरेकी अन्जनाको चर्चा पनि खासै सुनिएको छैन ।
फिल्ममा विजय बराल मात्र छाएका छन् । विजयको अभिनयको सवैतिरबाट तारिफ भइरहेको छ । तीन वटा फिल्म सुपरहिट दिएर नायिका अन्जना बराइली ‘लक्की’ साबित त भएकी छिन् । तर, फिल्मको चर्चा गर्मिदा उनको बिषय ओझेलमा परेको छ ।
तर, यसो भनिरहँदा यो वर्ष हिट भएका केही फिल्मबाट नायिकाहरूले भने राम्रै चर्चा पाए । फिल्म ‘मनसरा, घर ज्वाइँ’बाट नायिका मिरुना मगरको चर्चा भयो । फिल्म ‘खुष्मा’बाट नायिका उपासना सिंह ठकुरीले चर्चा पाइन् ।
प्रतिक्रिया