शोजका लागि अझै हारगुहार

फिल्म ‘सानो संसार’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ । कातिक ९ गतेबाट पुनः रिलिजमा आएको यो फिल्मलाई प्रदर्शकहरुले पर्याप्त शोज दिएनन् । ‘१२ गाउँ र छक्का पन्जा ५’को भेलमा यो फिल्म पर्यो । 

फिल्मको वर्ड अफ माउथ बलियो हुँदा हलमा दर्शक विस्तारै आइरहेका छन् । तर, फिल्मले शोज नै पाएन । फिल्मले शोज नपाएपछि यसका निर्माता अर्जुन कुमारले प्रदर्शकहरुसँग हारगुहार नै गरेका छन् । उनले, सामाजिक संजालमा लेखेका छन्–‘हल संचालक साथीहरू सानो संसारलाई एक–एक शो सबै हलहरुले दिनु न । सानो संसारलाई एक शो दिँदा तपाइलाई घाटा हुँदैन । जुन समयमा भए पनि हुन्छ ।’

उनको स्टाटसमा पीडा मिसिएको छ । तर, उनले जति हारगुहार गरेपनि कुनै पनि हलमा शोज बढेको छैन । यो फिल्मलाई क्यूएफएक्स क्यूजमा दिउँसो १ बजेको मात्र शोज दिइएको छ । अर्जुन कुमार भने शोज बढाइदिन हारगुहार गरिरहेका छन् । 

उसो त, शोजका लागि सामाजिक संजालमा विभिन्न तवरबाट पीडा पोख्ने उनी मात्र होइनन् । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले फिल्म चलेको पहिलो दिनबाट नै शोजका लागि हारगुहार गरिरहेका छन् । उनले लेखेकी छिन्–‘नेपाली फिल्म चल्दा केही केही हलवालाहरुको मुटु किन पोलेको होला ? कतै यो स्वार्थको द्धन्द्ध त होइन ?’

विनोदको इसारा अझै केही हलले पर्याप्त शोज नदिएकोमा छ । हल नपाएको गुनासो निर्देशक तथा कलाकार निश्चल बस्नेतले गरिरहेका छन् ।

प्रदर्शकहरुले नेपाली फिल्मलाई पहिलो दिनबाट नै विश्वास गर्न नसकेको आरोप उनको छ । उनले, नेपाली फिल्मले हलमा दर्शक खोजेपछि बल्ल प्रदर्शकहरुले शोज बढाउन थालेको आरोप लगाएका छन् । 

नेपाली फिल्मले बक्स अफिसमा आक्रामक कमाई गरिरहेका छन् । तर, शोज नपाएको भन्दै हारगुहार अझै सुनिएको छ ।