दशैं नछाड्ने विराजको संकेत, शोज घटेपछि यस्तो गुनासो

फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा आक्रामक व्यापार जारी राखेको छ । तर, नयाँ रिलिज ‘पूर्ण बहादुरको  सारङ्गी’ले बक्स अफिसमा आक्रामक व्यापार गरेपछि यो फिल्मको शोज घटेको छ । 

फिल्मले चौथो हप्तामा पाएको शोजमा दर्शकको चाप उल्लेख्य छ । उल्लेख्य दर्शक हुँदाहुँदै पनि शोजमा भारी कटौती भएपछि फिल्मका नायक तथा निर्देशक विराज भट्टले गुनासो गरेका छन् । दर्शकलाई भेट्न हल पुगेका विराजले शोज कटौती भएकोमा गुनासो गर्दै यसो नगर्न प्रदर्शकहरुलाई आग्रह गरेका छन् ।

विराजले भने–‘अझै पनि धेरै दर्शकहरुले फिल्म हेर्न पाउनुभएको छैन जस्तो लाग्छ । हलमा आउनु भएका अधिकांश दर्शकले पहिलो पटक फिल्म हेर्न आएको बताइरहनुभएको छ । तर, पर्याप्त शोज नहुँदा दर्शकले फिल्म हेर्न पाइरहेका छैनन् । यसैले, सबै प्रदर्शकलाई म शोजको विषयमा गम्भीर भइदिन आग्रह गर्दछु ।’

यस्तै, नायक तथा निर्देशक भट्टले आगामी बर्षको दशैं पनि नछाड्ने संकेत गरेका छन् । उनले, अब ३–४ बर्ष लगाएर फिल्म निर्माण नगर्ने बताए । उनले भने–‘अब, हामीले पहिलेको जस्तो केही बर्षको अन्तरालमा मात्र फिल्म बनाउदैनौं । अब, हरेक बर्ष हाम्रो कम्पनीले फिल्म बनाउँछ । अर्को बर्षको दशैं वा तिहारमा फिल्म रिलिज गर्ने गरि तयारी भइसकेको छ ।’

फिल्म ‘१२ गाउँ’ दशैंमा रिलिजमा आएको थियो । फिल्मले बक्स अफिसमा २३ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको दाबी वितरक गोविन्द शाहीको छ । फिल्ममा विराज भट्ट, समीर भट्ट, मुरलिधर, काजिश कोइराला, न्यान्सी खड्का, सनिषा भट्टराई लगायतका कलाकारहरूको अभिनय छ ।