निर्माताको पीडा एकातिर, निर्माता संघको फन्डा अर्कोतिर
यो बर्षको दशैं र तिहारमा नेपाली फिल्मका निर्माताहरूले हल नपाएको भन्दै गुनासो गरे । फिल्म हेर्नका लागि दर्शकको अकुपेन्सी उच्च हुँदा हुँदै पनि प्रदर्शकहरुले हेपेको भन्दै निर्माताहरू आक्रोशित बने । तर, निर्माताहरूले पीडा बारम्बार सुनाइरहँदा तिनै निर्माताहरुको हक हितका लागि भनी खोलिएको चलचित्र निर्माता संघ भने अर्कै फन्डामा रमायो ।
घटस्थापनाको दिनबाट रिलिजमा आएको फिल्म ‘बेहुली फ्रेम मेघौली’ होस् या फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘ज्वाइँ साब’का निर्माता नै किन नहोस् । फिल्म राम्रो चल्दा चल्दै पनि शो नपाएको भनेर बोल्दा बोल्दै थाके । तर, उनीहरुको पीडाको कतै सुनुवाइ भएन ।
अहिले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताको पीडा उस्तै छ । फिल्म लक्ष्मीपूजाबाट रिलिजमा आएको थियो । दर्शकको उच्च साथ पाउँदा पनि शो थपिएको छैन । हिन्दी फिल्मलाई प्रदर्शकले च्यापेको भन्दै निर्माता कराइरहेका छन् । तर, उनको लडाइमा साथ दिने कोही छैन ।
उसो त, नेपाली फिल्मका निर्माताहरू आफूलाई पर्दा मात्र बोल्छन् । जसले पीडा भोग्छ, उही मात्र बोल्ने परिपाटीले यहाँ निर्माताहरू बारम्बार समस्यामा पर्ने गरेका छन् ।
निर्माताहरू बारम्बार पीडामा पर्दा उनै निर्माताहरुको हक हितका लागि खोलिएको चलचित्र निर्माता संघ भने कानमा तेल हालेर बसेको छ । बरु, यसपटक यसका अध्यक्ष नवल खड्काले नयाँ फन्डा अपनाए ।
उनले, चलचित्र निर्माता संघले लडेर ५०–५० प्रतिशतको शेयर लागू गरेको भन्दै संघको सदस्य नभएका निर्माताले यसको अधिकार नपाउने निर्णय गरे । फिल्म बनाउने तर निर्माता संघको सदस्य नहुने निर्माताले ५० प्रतिशतको अधिकार नपाउने खड्काको निर्णय छ ।
तर, यो निर्णय गर्दै गर्दा नवलले कत्ति पनि लाज मानेनन् । किनकी, यो लडाई चलचित्र निर्माता संघको भन्दा पनि निर्माता निश्चल बस्नेतको थियो ।
पछि, निर्माता संघले संस्थागत रुपमा चलचित्र संघसँग कागजी संझौता मात्र गरेको थियो । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो हलमा ५० प्रतिशतको शेयर बाँडफाँड सुरुमै लागू गरिसकेका थिए । यसैले, यसको क्रेडिट निर्माता संघलाई भन्दा पनि दीपकराज गिरी र निश्चल बस्नेतलाई जान्छ ।
तर, निर्माता पीडामा पर्दा नबोल्ने चलचित्र निर्माता संघ निर्माताको अधिकार खोस्ने लागिपरेको छ । निर्माताको पीडा एकातिर छ, चलचित्र निर्माता संघ भने फन्डा मच्चाउनमा नै व्यस्त देखिएको छ ।
प्रतिक्रिया