फेरि नेपाली फिल्मले शो नपाएको गुनासो


दशैंको घटस्थापनाको दिनबाट रिलिजमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले दोस्रो सातामा गतिलो शो नपाएको भन्दै निर्माता निश्चल बस्नेतले आक्रोश व्यक्त गरे । फिल्म तेस्रो सातामा प्रवेश गर्दै गर्दा हलबाट नै उतार्ने निर्णय निश्चलले गरे । 

निश्चलको यो फिल्म अहिले एमएसएम नामक ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ । नेपाली फिल्मका निर्माताहरूले बारम्बार शो नपाएको गुनासो गर्दै आएका छन् । चलचित्र प्रदर्शकसँग नेपाली निर्माताको यो गुनासो बारम्बार सुन्ने गरिन्छ । तर, यसको समाधान सही तरिकाले भएको छैन । विशेषगरी, विदेशी फिल्मसँग नेपाली फिल्म रिलिज भएको समयमा यस्ता गुनासो अझै बढी सुनिन्छ । 

दशैँपछि तिहारमा पनि नेपाली फिल्म मारमा परेको गुनासोहरू सुनिएका छन् । विशेषगरी, लक्ष्मीपूजाको दिनबाट रिलिजमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाउँदा पाउँदै पनि शो नपाएको गुनासो यसका निर्माताले गरिरहेका छन् । 

फिल्मका निर्माता विनोद पौडेलले फिल्मले दर्शकको उच्च शो पाउँदा पनि केही प्रदर्शकहरुले आफ्नो फिल्मलाई कम शो दिएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले, दर्शकको अकुपेन्सी नेपाली फिल्ममा बढी हुँदा पनि शो नपाउनु दुःखद कुरा भएको बताए । 

यता, कात्तिकको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘सानो संसार’का निर्माताले पनि दर्शकको साथ दोस्रो हप्तामा राम्रो पाइरहेको अवस्थामा हलमा शो नै नपाएको गुनासो सामाजिक संजालबाट गरिरहेका छन् । फिल्मका निर्माता अर्जुन कुमारले आफूहरूको फिल्मले दर्शकको साथ पाइरहेको अवस्था हलमा शो नै नभएको गुनासो गरे । 

विशेषगरी, तिहारमा बलिउडका दुई फिल्म ‘सिंघम अगेन र भूलभूलैयाँ ३’ रिलिजमा आएका छन् । जसकाकारण, प्रदर्शकहरुले नेपाली फिल्मलाई चेपुवामा पारेको गुनासो सुनिएको छ ।