‘ह्रस्व दीर्घ’ धार्मिक पृष्ठभूमि भए पनि धार्मिक फिल्म हैन
कात्तिक ३० गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ लाई निर्देशक चन्द्र पन्तले पूर्णरूपमा धार्मिक नभएको दाबी गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक पन्तले फिल्म धर्मसँग केही सन्दर्भ जोडिए पनि यो परिवार र प्रेमकथामा आधारित रहेको बताए। “यो एक फेमिली र लभ स्टोरी ड्रामा हो, जसमा संवेदना र सम्बन्धको कथा छ,” उनले भने।
फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा नेपाली फिल्म क्षेत्रमा पुनरागमन गर्दैछिन्। उनले विश्वभर नेपाली कलाकारलाई चिनाउनुपर्ने सोचले यो फिल्ममा अभिनय गर्ने निर्णय गरेको बताइन्। विपनाले भनिन्, “सानैदेखि हलिउड र बलिउड कलाकारलाई चिनिन्थ्यो। मेरो सानो सपना थियो कि नेपाली कलाकारलाई पनि ती ठाउँका कलाकारहरूले चिन्छन्।” यस फिल्ममा उनले आमाको भूमिका निभाएकी छन्। यो भूमिका पाउँदा अत्यन्तै भावुक बनेको अनुभव पनि उनले सुनाईन ।
नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’मा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा साथै दक्षिण भारतीय चर्चित कलाकार ब्रह्मानन्दम र सुनिल वर्मालगायतका कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ। फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् भने यो चन्द्र पन्तको पहिलो नेपाली निर्देशन हो। यसअघि उनी भोजपुरी र नेपाली फिल्महरूमा द्वन्द्व निर्देशन गर्दै आएका थिए।
हरिहर अधिकारीद्वारा लिखित कथामा प्रतीक पौडेल, चन्द्र पन्त र हरिहर अधिकारीकै पटकथा तथा संवाद रहेको छ। फिल्मको सिनेमाटोग्राफी बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले गरेका छन्। फिल्म निर्माणमा नीता ढुंगानाले डेब्यू निर्माणको भूमिका निभाएकी छन् भने यसमा उनले अभिनय पनि गरेकी छन्। उनले भनिन “निर्माता र अभिनेत्री दुवै भूमिका निभाउन गाह्रो भए पनि यो अनुभवबाट धेरै सिक्न पाएकी छु।”
निर्मात्री नीताले नेपाली र भारतीय निर्माता मिलेर ६-७ करोड रुपैयाँको बजेटमा फिल्म बनाएको बताइन्। उनले भनिन्, “भोलि ५० करोडको फिल्म बनाउने आँट पनि बटुलेकी छु।” फिल्मको प्रचारप्रसारलाई लिएर अहिले निर्माण टिम दौडधुपमा छ। हालसम्म यसका गीत र टिजर सार्वजनिक भइसकेका छन्।
फिल्मका नायक तथा पटकथाकार हरिहर अधिकारीले फिल्मको छायांकन ज्योतिष विधा अनुसार गरिएको र निर्धारित ४३ दिनमै सुटिङ सकिएको बताए। उनले भने, “सुटिङको साइत ज्योतिष विधाअनुसार निकालेर काम गर्यौं। तर पोस्ट प्रोडक्सनको काममा ज्योतिषको कुनै हात हुँदैन, त्यसैले त्यहाँ समय लाग्यो।”
हरिहरले आफ्नो दोस्रो फिल्म भएकाले वरिष्ठ कलाकारहरूसँग काम गर्दा सुरुमा चुनौती महसुस भएको बताउँदै पहिलो फिल्म ‘शुभ लभ’बाट धेरै कुरा सिकेको उल्लेख गरे।
‘ह्रस्व दीर्घ’को कथा परिवार, सम्बन्ध र प्रेमका संघर्षमा आधारित छ। फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा लगायतको महत्वपूर्ण भूमिका छ भने दक्षिण भारतीय कलाकारको पनि उपस्थिति रहेको छ।
प्रतिक्रिया