फरक पृष्ठभूमि र भूगोलका व्यक्तिहरूबीचको मित्रता-‘मिसिङः केटी हराएको सूचना’

दीपेन्द्र गौचनको लेखन र निर्देशनमा बनेको फिल्म  को ट्रेलर सार्वजनिक गरिएको छ। यो फिल्म कात्तिक ३० गतेबाट रिलिज हुँदैछ। बुधवार ललितपुरको लबिम मलमा आयोजित कार्यक्रमकाबीच चार मिनेट ७ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरले फरक शैलीमा दुई फरक पृष्ठभूमि र भूगोलका व्यक्तिहरूबीचको मित्रता र त्यसमा आउने उतारचढावको कथा देखाएको छ। यो फिल्म पहाडी-मधेसी मेलमिलापको खोजीमा आधारित छ। कथामा डेटिङ एपबाट भेटिएका दुई पात्र, राम (नाजिर हुसेन) र सीता (सृष्टि श्रेष्ठ) को जीवनयात्रालाई देखाइएको छ। बुद्धि तामाङले ‘न्यारेटर’ को रूपमा प्रस्तुत गरेको ट्रेलरमा सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टि यात्रामा निस्किँदा उनीहरूबिच आउने चुनौतीहरू समेटिएका छन्।

फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। अमितेष शाह विशेष भूमिकामा छन्।

निर्देशक गौचनले ३२ वर्षअघि चर्चित डकुड्रामा ‘उजेली’ बनाएपछि नेपाल फर्किएर यो फिल्म बनाएका हुन्। उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए।

फिल्ममा दीपेन्द्रकै लेखन र निर्माण रहेको छ भने कार्यकारी निर्मातामा नकिम उद्दिन रहेका छन्। सह-कार्यकारी निर्माताहरूमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, र सञ्जय भट्टचन छन्।

‘मिसिङः केटी हराएको सूचना’ को छायांकन अमर महर्जनले गरेका छन् भने संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाले तयार पारेका छन्। यस फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी, र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।