अनमोलको ‘जेरी अन टप’को छायांकन सुरु

नायक अनमोल केसीको प्रमुख भूमिका रहने फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार पाटनस्थित बगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्त गरेसँगै फिल्मको अफिसिय छायांकन सुरु गरिएको हो ।

यो फिल्मको शुभमुहूर्त कार्यक्रममा अनमोलसँगै केदार घिमिरे (माग्ने बुढा), विपना थापा, आँचल शर्मा, जसिता गरुङ लगायतका कलाकारहरुको उपस्थिति थियो । फिल्मका कलाकारहरुले मुहूर्तअघि बगलामुखी मन्दिरमा विशेष पूजाआजा गरेका थिए ।

फिल्मको शुभमुहूर्त कार्यक्रममा बोल्दै नायक अनमोलले फिल्मलाई लिएर निकै उत्साहित रहेको बताए । उनले फिल्ममा माग्ने बूढासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै भने,-‘छक्का पञ्जाको हरेक श्रृंखलामा केदार दाईको इन्ट्री हुँदा ताली बजाउनेमा म पनि पर्छु । म उहाँको फ्यान हुँ ।उहाँको इनर्जीबाट पनि म प्रभावित छु ।’ 

निर्देशक सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको सोमबार धुलिखेलमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ । काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिने फिल्मको धुलिखेलको छायांकन सकाएर काठमाडौंमा छायांकन सुरु गरिने निर्माता सरोज न्यौपानेले बताए । 

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यो फिल्मको छायांकन सेड्युल ६० दिनको रहेको छ । ३ करोडको बजेटमा निर्माण गरिने यो फिल्मको कथा हेमराज बिसीले लेखेका छन् । फिल्ममा विश्व तिमिल्सेनाको पटकथा रहनेछ । 

फिल्ममा अनमोल केसी, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्मा, जसिता गुरुङसहित भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । यो फिल्ममा भुवन र विपना अनमोलको बुवाआमाको भूमिकामा रहनेछन् । भुवन र विपनाले करिब १८ वर्षपछि एकसाथ काम गर्न लागेका हुन् । 

अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्ममा उज्जवल जोशीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, सरोज न्यौपानेको निर्माण रहनेछ । निर्माणमा दीपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले सरोजलाई सघाएका छन् । फिल्मको कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा फिल्मका एसोसिएट निर्माता छन् । यो फिल्मलाई आगामी फागुन २ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।