के माग्नेले ऋषिको फिल्म गर्न लागेका हुन् ?

करिब ८ वर्षपछि निर्देशक ऋषि लामिछाने निर्देशनमा कमब्याक गर्ने भएका छन् । अहिले स्क्रिप्ट लेखनको काम भइरहेको फिल्मको मुख्य भूमिकामा कलाकार केदार प्रशाद घिमिरे (माग्ने बुढा) रहने जनाइएको छ । तर, फिल्मको लागि लिखित सम्झौता भने गरिएको छैन् ।   

यो फिल्मको स्क्रिप्ट समीक्षक सामिप्यराज तिमिल्सेनाले लेखेका छन् । कमेडी जनरामा निर्माण यो फिल्मको नाम अहिले सार्वजनिक गरिएको छैन । निर्माणपक्षका अनुसार फिल्मको केही दिनमा औपचारिक घोषणा सँगै नाम पनि सार्वजनिक गरिनेछ ।  

ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन आएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘सरी ल’, ‘श्रीमान् श्रीमती’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।
 
आगामी माघ १५ गतेबाट छायांकनमा जाने फिल्मलाई निर्देशक मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् । घोराही उप-महानगरपालिका-४ को वडा अध्यक्ष समेत रहेका घिमिरेले यसअघि ‘खबरदार’ र ‘इच्छा’ फिल्मको निर्देशन गरेका थिए । 

बुझिएअनुसार यो फिल्ममा सौगात मल्लको पनि प्रमुख भूमिका रहनेछन् भने संगीतकारको रुपमा दीपक शर्मा फाइनल भएका छन् ।