नीताको ‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दी भाषामा सँगै प्रदर्शन हुने
यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’ एउटै मितिमा नेपाली र हिन्दीमा भाषामा प्रदर्शन हुने भएको छ । निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाका अनुसार फिल्मलाई नेपाली र हिन्दी भाषामा एकैदिन प्रदर्शन गर्न लागिएको हो ।
नेपालीसहित साउथ कलाकारहरुको मुख्य भूमिका रहेको यो फिल्मलाई विदेश वितरण अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको छ ।
विदेशमा भने नेपालमा प्रदर्शन भएको एक सातापछि मात्र रिलिज गरिने सेभेन सिजले जनाएको छ । सिजका अनुसार यो फिल्म विदेशमा पनि दुइटै भाषामा प्रदर्शन गरिनेछ ।
नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा अभिनेता हरिहर अधिकारीको कथा प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ। फिल्मलाई भारतीय छायांकार कवीर लालले खिचेका हुन् ।
चन्द्र पन्तको निर्देशनमा रहेको यो फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का लगायतको पनि अभिनय छ भने अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । साउथबाट ब्रह्मानन्दमसहित अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको पनि अभिनय छ ।
प्रतिक्रिया