हाँस्य शैलीको 'फिरफिरे फिरिरी'को ट्रेलर

कात्तिक २२ गते छठ पर्वको दिन पारेर प्रदर्शनको तयारी गरेको फिल्म 'फिरफिरे फिरिरी'को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको रिलिज मिती नजिकिदै गर्दा निर्माणपक्षले बिहीबार ट्रेलर सार्वजनिक गरेको हो । 

सार्वजनिक फिल्मको ट्रेलरमा यसको कथावस्तुबारे प्रकाश पार्छ । २ मिनेट ४२ सेकेण्डको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा प्रस्तुत गरेको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ । हरर कमेडी जनरामा निर्माण गरिएको यो फिल्मले हँसाउने र तर्साउने दुबै काम गर्छ । नेपालको हकमा यो  शैलीको फिल्म निकै कम निर्माण हुनेगर्छ ।  

१५ वर्षपछि निर्माणमा फर्किएका निर्माता मनोज कुमार अधिकारी यो फिल्म निर्माण गरेका हुन् । नितिश पुन सह-निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ । 

नविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।