दिपक र प्रकाश सुवेदीलाई ‘कमान्डर' प्रमाणित गर्न निर्माता सेनको चुनौती

फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले ‘कमान्डर अर्थात साइबर सेना’ शब्द प्रति आपत्ति जनाएका छन् । उनले बुधवार एक भिडियो आफ्नो फेसबूकमा पोस्ट गर्दै ‘कमान्डर' प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् । 

केही दिन अगाडि एपीवान टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’का होस्ट प्रकाश सुवेदीको प्रश्न र सो कार्यक्रमको पाहूना बनेर कार्यक्रममा पुगेका कलाकार दीपकराज गिरीको अभिव्यक्तिका कारण निर्माता सेनले अहिले आपत्ति जनाएका छन् । आफ्नो कार्यक्रममा बोलाएका सुवेदीले दिपकराजलाई निर्देशक तथा निर्माता सन्तोष सेनको तस्वीर देखाउदै कुन रुपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए । तर, त्यो प्रश्नको जवाफ पनि सुवेदी आँफैले दिदै 'कमान्डर' शब्द प्रयोग गरेका थिए । 

सेनले आफूलाई साइबर सेनाको कमान्डर भएको आरोप लागेपछि त्यसले निकै तनाव भएको र डिप्रेसनको सिकार बन्न बाध्य बनाएको बताए । सेनले भिडियोमा भनेका छन्, 'मैले साइबर सेना शब्दलाई सुरुमा नर्मल नै लिए । तर, यही कुरालाई लिएर थुप्रै मेसेजहरु आएपछि म बोल्न बाध्य भएको हो।' उनले भने। 

आफूबाट यो काम भएको रहेछ भने जेल जान तयार रहेको भन्दै सेनले निर्माता दीपकराज र प्रकाश सुवेदीलाई बिना प्रमाण लाल्छना नलगाउन चेतावनी दिएका हुन् । सेनले भनेका छन्, ‘जसले उहाँहरुलाई यो कुरा भन्यो त्यसलाई कारबाही त गर्नुपर्छ । प्रकाश दाईलाई भन्ने मान्छे र दीपक दाईलाई सुनाउने मान्छेलाई उभ्याउनुपर्‍यो । मान्छेलाई त्यतिकै लाल्छना लगाउन त मिल्दैन नि । यदि मैले गरेको हो भने मलाई थुन्नुपर्‍यो ।' उनले भने ।