'मिसिङ: केटी हराएको सूचना'को दोस्रो टिजरमा नाजिर र सृष्टिको प्रेम

आगामी कार्तिक ३० गतेबाट प्रदर्शन हुने फिल्म 'मिसिङ: केटी हराएको सूचना'को दोस्रो टिजर रिलिज गरिएको छ। सोमबार रिलिज फिल्मको टिजरमा मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठ को प्रेमकथा प्रस्तुत गरिएको पाईन्छ ।
  
यो फिल्मको पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ भने नाजिर र सृष्टिको सम्बन्धले अगाडि बढ्ने क्रममा उनीहरूको प्रेममा थप संघर्ष र पेचिलो मोडहरू प्रस्तुत गर्छ । 

 टिजरको अन्त्यमा दर्शकले नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न पाउँछन्। यो दृश्यले पहिलो टिजरको विपरीत परिणाम प्रस्तुत गर्दछ, जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो।

३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन रहेको फिल्ममा दीपेन्द्रकै निर्माण र स्क्रिप्ट लेखन छ । फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व,  दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी रहेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।