दर्शकको मन जितेको ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर ट्रेन्डिङमा

कात्तिक १५ गते रिलिज हुने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले फिल्मकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । गन्दर्व समुदायको कथामा आधारित यो फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । 

यतिबेला फिल्मकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै फिल्मबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर ६ आ पर्न सफल भएको छ । 

यो फिल्मको ट्रेलरले पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले गर्ने हेला र माथि उठ्ने प्रयास गर्दा समाजका नवधनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन् भन्ने देखाएको छ । समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्दर्भ समुदायका अभिभावक पुग्छन् भन्ने कथा ट्रेलरमा छ । 

निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्मको गीत र ट्रेलरमा आएको दर्शकको प्रतिक्रिया युट्युबमा हेर्दा पनि यसले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ ।

सोसल–ड्रामा जनरामा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथा भन्छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । यो फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।  

फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी छ ।