आइतबारदेखि काठमाडौंमा ‘ग्लोमस क्याम्प’ हुने

आगामी आइतबारदेखि काठमाडौंको गोकर्ण रिसोर्टमा अन्तर्राष्ट्रिय कार्यशाला 'ग्लोमस क्याम्प' सुरु हुने भएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा १० दिनसम्म चल्ने यस कार्यशालामा नेपालसहित २१ देशका ३१ विश्वविद्यालयका ३०० भन्दा बढी सङ्गीत, नृत्य, नाट्यकर्मी तथा कला प्राध्यापकहरू सहभागी हुने जनाइएको हो । 

नेपाल म्युजिक सेन्टर ट्रस्टको आयोजनामा सुरु हुने यो कार्यक्रममा नेपाली सांस्कृतिक धरोहरको प्रवर्द्धन र अन्तर्राष्ट्रिय सङ्गीत क्षेत्रमा नेपालको स्थान मजबुत बनाउने उद्देश्यसहित आयोजना हुन लागेको हो । 

नेपालबाट मात्रै २०० भन्दा धेरै सहभागी हुने यो कार्यशालाले सङ्गीत, सांस्कृतिक सम्पदा र सृजनशील बुद्धिमत्ताको आदानप्रदान गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्ने विश्वास लिइएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेद्वारा उद्घाटन हुने यस कार्यक्रममा विभिन्न किसिमका प्रशिक्षण, कला प्रदर्शन तथा सृजनशील बुद्धिमत्ताको आदानप्रदानसम्बन्धी गतिविधिहरू समावेश गरिएका छन्। 

सन् २००७ मा मोजाम्बिकमा पहिलो पटक आयोजना भएको यस कार्यशाला यसअघि घाना, तान्जानिया, मलेसिया, ब्राजिल, र डेनमार्कमा पनि सम्पन्न भइसकेको छ। हरेक संस्करणमा सङ्गीत र कलाको माध्यमबाट सृजनशीलता र नागरिकताको बहस गरिँदै आएको ग्लोमस क्याम्पले यस पटक नेपालको सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गर्नेछ।