विपीनको मुख्य भूमिकामा ‘कर्मा’ घोषणा, चैत २९ मा रिलिज हुने

अभिनेता विपीन कार्किको मुख्य भूमिकामा फिल्म ‘कर्मा’को घोषणा गरिएको छ । बिहीवार निर्माणपक्षले विपीनलाई यो फिल्ममा अनुबन्धित गराउदै चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्मको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले फिल्ममा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

सौरभ चौधरीले निर्देशन गर्ने यो फिल्ममा उनको आफ्नै कथा रहनेछ । निर्देशक चौधरीको यो तेस्रो निर्देशन हो । यसअघि उनले फिल्म ‘अगस्त्य: च्याप्टर–१’को निर्देशन गरेका थिए । 

एक्सन ड्रामा जनरामा निर्माण हुने यो फिल्ममा अभिनेता विपीनको एक्शन अवतार रहनेछ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन्। 

मङ्सिर दोस्रो सातापछि छायांकन सुरु हुने यो फिल्मको अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ ।