अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा ‘गुन्युचोलो’ छनोट

समुन्द्र भट्टले निर्देशन गरेको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ । अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा यो फिल्म छनोट भएको हो ।

लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको यो फिल्म अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन् ।

यसवर्षदेखि फिल्म मार्केट पनि सुरु गर्न लागेको तस्वीर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको छ ।

तस्वीर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन्। उनले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रुपमा हेर्दै फिल्म निर्माताहरूका लागि यो महत्वपूर्ण अवसर हुने बताएकी छन्।

नाजिर हुसेनको मुख्य भूमिका रहेको यो फिल्ममा उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ । 

नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा निर्माण भएको फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन्। आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीको गीत रचना रहेको छ ।