‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने निश्चल–स्वस्तिमाको निर्णय

असोजको १७ गतेबाट रिलिजमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने निर्णय यसको  निर्माणपक्षले गरेको छ । भोली बिहिबारबाट फिल्मलाई देशभरका हलबाट उतार्ने निर्णय गरिएको छ ।

फिल्मका निर्माता तथा कलाकार निश्चल बस्नेतले सामाजिक संजालमा स्टाटस लेख्दै अब यो फिल्म एमएसएम भिडियो एप मार्फत सार्वजनिक हुने जानकारी पनि निश्चलले दिएका छन् । 

उनले अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने यो एपबाट फिल्म हेर्न नमिल्ने पनि जानकारी दिएका छन् । 

साजन काफ्ले र आकाश बरालको निर्देशनमा तयार भएको फिल्मले पहिलो साता ऐतिहासिक शोज पाएको थियो । तर, दोस्रो साता ३ नयाँ नेपाली फिल्म रिलिज भएपछि यसको शोज खुम्चियो ।

निश्चलले केही दिन अगाडि हिन्दी फिल्म ‘जिग्रा’को अकुपेन्सी नै नहुँदा पनि हलमा राखेको र आफूहरुको फिल्मको उच्च अकुपेन्सी हुँदा पनि शोज नपाएको गुनासो गरेका थिए । 

फिल्मले पहिलो साता सुखद व्यापार गरेको थियो । दोस्रो साता शोज खुम्चिदा फिल्मको व्यापार पनि खुम्चिएको थियो । फिल्मलाई निश्चल र स्वस्तिमाले मिलेर बनाएका हुन् । फिल्ममा यी दुइको नै मुख्य भूमिका छ ।