कस्तो रह्यो सनिषाको फिल्मी डेब्यू ?

म्युजिक भिडियोमा रुचाइएकी मोडल हुन्, सनिषा भट्टराई । उनै, सनिषाले अभिनय गरेको फिल्म ‘१२ गाउँ’ हलमा चलिरहेको छ । यो फिल्मले बक्स अफिसमा आक्रामक कमाई गरिरहँदा सनिषा भने एक दिन मात्र हलमा दौडिइन् । उनी, हाल अर्को फिल्म ‘नरसिंहाः अवतार’को छायांकनमा व्यस्त छिन् । 

सनिषा अभिनित फिल्मले बक्स अफिसमा आक्रामक कमाई गरिरहँदा नव–नायक समीर भट्टको चर्चा हाबी छ । उसो भए, यो फिल्मबाट सनिषालाई कस्तो फाइदा भयो त ?

सनिषाको यो फिल्ममा महत्वपूर्ण भूमिका छ । तर, उनको भूमिका लामो छैन । यसकारण, उनले पहिलो फिल्ममा आफ्नो अभिनय पूर्ण रुपमा देखाउन पाएकी छैनन् । फिल्ममा उनी नायिकाको रुपमा देखिएकी छैनन् । फिल्ममा उनी भन्दा अर्की नायिका न्यान्सी खड्का हाबी छिन् । 

सनिषा यो फिल्ममा नायिकाको रुपमा भन्दा पनि एक पात्रको रुपमा देखिएकी छिन् । यसैले, यो फिल्म बक्स अफिसमा सफल हुँदा उनको करिअरका लागि ठूलो फाइदा हुने देखिँदैन । तर, डेब्यू फिल्म नै हिट भएको खुशी उनले साट्न भने पाएकी छिन् । 

दर्शकले सनिषालाई अब ‘नरसिंहाः अवतार’बाट बढी आशा गर्न सक्नेछन् । यो फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । तर, ‘१२ गाउँ’बाट डेब्यू गरेकी सनिषाको सुखद फिल्मी यात्रा भने सुरु भएको छ ।