‘१२ गाउँ’ले फर्कायो एक्सन फिल्मको क्रेज

दर्शकलाई उत्साहमा राख्न सक्ने हो भने हरेक प्रकारका फिल्मले आक्रामक व्यापार गर्न सक्छन् भन्ने उदाहरण बनेको छ, दशैंको फूलपातिबाट रिलिजमा आएको फिल्म ‘१२ गाउँ’ । 

यो फिल्मले बक्स अफिसमा रिलिजको पहिलो दिनबाटै आक्रामक व्यापार गरिरहेको छ । यतिमात्र होइन, फिल्मको शोज आजबाट अझै बढेको पनि छ । सुरुवाती दिनमा ‘छक्का पन्जा ५’ भन्दा कम शो पाएको यो फिल्मले आजबाट बराबरीको शोज पाएको छ । यसको अर्थ, फिल्मको माग उच्च छ भन्ने नै हो । 

यो फिल्मले बक्स अफिसमा सुनामी मात्र ल्याएको छैन, नेपाली दर्शकले एक्सन फिल्म हेर्न खोजिरहेका छन् पुष्टि पनि गरिदिएको छ । 

विगत केही महिनादेखि नेपाली फिल्मले एक्सन फिल्ममा कोशिश नगरेको होइन । तर, कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सकेका थिएनन् । तर, ‘१२ गाउँ’ले बक्स अफिसमा आक्रामक कमाई गरेपछि एक्सन जनराका फिल्मलाई पनि दर्शकले प्रतीक्षा गरिरहेका थिए भन्ने पुष्टि भएको छ । 

यसले आगामी दिनमा एक्सन फिल्मको निर्माण बढ्ने निश्चित छ । साथै, एक्सन फिल्म बनाइरहेका मेकरलाई पनि ठूलो राहत मिलेको छ । 

विराज भट्टको निर्देशनमा तयार भएको यो फिल्मले बक्स अफिसमा रिलिजको सातौं दिनमा पनि आक्रामक व्यापार गरिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन ।