६ दिनमै ‘छक्का पन्जा ५’लाई १० करोड

दशैंको फूलपातिबाट रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ५’ले बक्स अफिसमा आक्रामक कमाई गरेको छ । यो फिल्मले रिलिजको छैटौँ दिनमा नै १० करोडको आँकडा पार गरेको वितरक मनोज राठीले मेरो फिल्मलाई जानकारी दिए । 

मनोजका अनुसार, फिल्मको पहिलो र दोस्रो दिनको व्यापार २–२ करोड थियो । तेस्रो दिन टीका परेकाले शोजहरु २ बजेपछि मात्र खुलेका थिए । जसकाकारण उक्त दिन फिल्मले १ करोड माथिको कमाई गरेको राठीले बताए । टीकाको भोलिपल्टबाट फेरि फिल्मले व्यापारिक रफ्तारलाई अझै आक्रामक बनाएको थियो । 

मंगलबारसम्म फिल्मको व्यापार १० करोड माथि पुगेको राठीले बताए । सोमबारसम्म फिल्मले ९ करोड ग्रस कलेक्शन गरेको वितरण कम्पनीले बताएको छ । 

फिल्मले दोस्रो साताको शनिबारसम्म १४ करोड माथिको व्यापार गर्ने प्रक्षेपण गरिएको छ । शनिबारपछि पनि फिल्मको व्यापारिक रफ्तार कायम रहेको खण्डमा यसले ‘छक्का पन्जा ३’ले बनाएको १८ करोडको आँकडालाई पार गर्ने संभावना उच्च छ । 

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, प्रकाश घिमिरे, राजाराम पौडेल, वर्षा सिवाकोटी लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।