समीर भट्टको उदय

नेपाली फिल्म क्षेत्रमा एक्सन नायकको रुपमा समीर भट्टको उदय भएको छ । लामो समयदेखि एक्सन नायकको खोजी गरिरहेको नेपाली फिल्म क्षेत्रले अन्ततः समीरलाई पाएको छ । 

बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा धुम मात्र मच्चाएको छैन, समीरको चर्चा समेत चुलिएको छ । फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले समीरको कामको प्रशंसा गरिरहेका छन् । सामाजिक संजालमा समीरको चर्चा अत्याधिक देखिन्छ । 

फिल्म हेरेका अधिकांश फिल्मीकर्मीले पनि यो दशैंमा नेपाली फिल्म क्षेत्रले समीरलाई पाएको भन्दै तारिफ गरिरहेका छन् । 

१० बर्ष लामो तयारीपछि फिल्म क्षेत्रमा प्रवेश गरेका समीरले दर्शकलाई बाँधेका छन् । फिल्ममार्फत उनले आफूलाई नयाँ स्टारको रुपमा प्रमाणित गरेका छन् । 

फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा सुरुवातको दिनबाटै आक्रामक व्यापार गरिरहेको छ । यो क्रम आजसम्म पनि रोकिएको छैन । यो फिल्म रिलिज अगाडि ‘१२ गाउँ’ले यस्तो आक्रामक व्यापार गर्छ भनेर कमैले मात्र अनुमान गरेका थिए । तर, समीरले आजका दिनमा ब्लकबस्टर सिरिज ‘छक्का पन्जा ५’लाई पनि चुनौती दिइरहेका छन् । 

विराज भट्टको निर्देशनमा तयार भएको यो फिल्मको व्यापारिक आँकडा सार्वजनिक भएको छैन । तर, फिल्म सुपरहिट बाटोमा देखिएको छ । साथै, नेपाली फिल्म क्षेत्रले समीरलाई नयाँ स्टारको रुपमा पाएको छ ।