हलको विकल्प खोज्ने निश्चलको चेतावनी

फिल्म ‘दिमाग खराब’ रिलिजको समयमा निर्देशक तथा निर्माता निश्चल बस्नेतले ५० प्रतिशत शेयर पाउनुपर्ने अडान राख्दै हलबाट फिल्म उतार्ने चेतावनी दिए । फिल्म जती साता हलमा चलेपनि निर्माताले ५० प्रतिशत शेयर पाउनुपर्ने उनको अडान पछि सफल भयो । 

यसपटक फेरि उनले हलको विकल्प खोज्ने चेतावनी दिएका छन् । आफूले निर्माण तथा अभिनय गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को अकुपेन्सी राम्रो हुँदा हुँदै पनि विदेशी फिल्मलाई शोज दिएको भन्दै निश्चलले असन्तुष्टी जनाएका छन् । उनले, विदेशी फिल्मको अकुपेन्सी नहुँदा पनि प्रदर्शकले आफूहरुको शोज नबढाएको भन्दै हलबाट फिल्म उतार्ने र हलको विकल्प खोज्ने चेतावनी दिएका छन् । 

निश्चलको यो चेतावनीमा अधिकांश निर्माताले सहमती जनाएका छन् । निश्चलले हलको विकल्प खोज्ने बताएपनि त्यो विकल्प के हो भनेर खुलाएका छैनन् । 

असोजको १७ गते घटस्थापनाको दिनबाट रिलिजमा आएको यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । तर, दोस्रो साता तीन वटा नेपाली फिल्म रिलिज भएपछि ‘बेहुली फ्रम मेघौली’को शोजमा भारी गिरावट आयो । 

तर, हिन्दी फिल्म ‘जिग्रा’को अकुपेन्सी कमजोर हुँदा हुँदै पनि प्रदर्शकले हलबाट न त उतारेका छन् न त शोज घटाएका छन् । निश्चलले प्रदर्शकको यो व्यवहारमा फेरि असन्तुष्टी जनाएका छन् ।