अमेजन प्राइम भिडियोमा नेपाली फिल्म ‘अनौठो तृष्णा’

आज देखि अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा नेपाली फिल्म ‘अनौठो तृष्णा’ स्ट्रिमिङ भएको छ। यो प्लेटफर्ममार्फत नै फिल्मको वर्ल्ड प्रिमियर पनि गरिनेछ। तर, अहिलेको लागि यो रिलिज अमेरिका, युके र जर्मनीमा मात्र सीमित छ।

हिजो सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘अनौठो तृष्णा’को ट्रेलर सार्वजनिक गरिएको थियो। निर्देशक प्रधानले फिल्म समाजका चार फरक व्यक्तिहरूका लुकेका तृष्णाहरूको कथा हो भन्ने बताए। “हाम्रो उद्देश्य यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने हो, तर नेपाली भाषामै विश्वभरका दर्शकहरू माझ पुर्‍याउने प्रयास गरेका छौं,” प्रधानले भने।

उनले थपे, “फिल्ममा चार परिवारका सदस्यहरूको कथा छ, जहाँ हरेकको आन्तरिक तृष्णा छ, जुन उनीहरूले अरूसँग खुलेर भन्न सक्दैनन्। यिनै तृष्णाहरूलाई पर्दामा उतार्न खोजिएको हो।”

अभिनेता विजय बरालले अमेजन प्राइम भिडियोमा फिल्म रिलिज हुने खबरले आफूलाई धेरै उत्साहित बनाएको बताए। उनले भने, “यो फिल्म अलि फरक शैलीमा बनेको छ र पात्रहरूको लुकेका तृष्णाहरूको कथा निकै रोचक छ। निर्देशकसँग काम गर्दा धेरै सिक्न पाइयो।”

अभिनेत्री सृष्टि खड्काले पनि फिल्ममा काम गर्दा धेरै कुरा सिक्न पाएको बताइन्। “यो मेरो दोस्रो फिल्म हो। मैले कहिल्यै सोचेकै थिइनँ कि मेरो अभिनयको यात्रा यति छिट्टै प्राइम भिडियोमा पुग्छ,” उनले भनिन्।

अभिनेत्री अलिसा शर्माले आफ्नो अनुभव सेयर गर्दै भनिन्, “यो मेरो दोस्रो फिल्म हो। पहिलो फिल्मपछि फिल्म नगर्ने निर्णय गरेकी थिएँ, तर ‘अनौठो तृष्णा’को कथा सुनेर काम गर्न प्रेरित भएँ। अमेजन प्राइममा फिल्म रिलिज हुने कुरा सोचेकै थिइनँ।”
नव-कलाकार नवीन न्यौपानेले आफ्नो पहिलो फिल्म नै अमेजन प्राइममा रिलिज हुने सुनेर उत्साहित भएको र फिल्मबाट धेरै अपेक्षा गरेको बताए। मोडल विकास लामिछानेले पनि आफ्नो पहिलो फिल्मबाट राम्रो अनुभव भएको बताए।

फिल्मका निर्माता सुगम आचार्यले भने, ‘अनौठो तृष्णा’ नेपाली फिल्महरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन महत्त्वपूर्ण कदम भएको बताए। “यो त सुरुवात मात्र हो। चाँडै अरू नेपाली फिल्महरू पनि प्राइम भिडियोमा आउनेछन्,” उनले भने।

हालका लागि यो फिल्म तीन देशमा मात्र उपलब्ध भए पनि निर्माता आचार्यले छिट्टै नेपालसहितका अन्य मुलुकहरूमा पनि स्ट्रिमिङ गरिने जानकारी दिए।

निरञ्जन प्रधानको निर्देशनमा बनेको यो क्राइम र सस्पेन्स शैलीको फिल्ममा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, सृष्टि खड्का, अलिसा शर्मा, र विकास लामिछानेले प्रमुख भूमिका निभाएका छन्। बाबुराम निरौलाले लेखेको यो फिल्म स्टर्म क्रो प्रोडक्सन नेपाल र स्टर्म क्रो फ्रेमवर्क अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको हो। फिल्मका निर्माता सुगम आचार्य र निरञ्जन प्रधान हुन्।