अहिले हिरो भएँ भने पनि म कमेडीमा नै छु - जितु नेपाल
कलाकारअभिनयमा नयाँ नाम होइनन्, तर ‘हिरो’का रूपमा भने उनी फिल्म क्षेत्रमा नयाँ मानिन्छन्। ‘ह्यारी कि प्यारी’ फिल्ममा उनले हिरोको भूमिका निभाउँदै अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका थिए। अब, यही असोज २४ गते फूलपातीका दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा उनी नायिका निती शाहको जोडी बनेर पर्दामा आउँदैछन्।
‘ज्वाइँ साब’ फिल्ममा जितुको भूमिका रोचक छ। उनले यो फिल्मको दोस्रो पटक प्रस्ताव आउँदा मात्र स्वीकार गरेका थिए। “पहिले मलाई यस फिल्मको प्रस्ताव आएको थियो, स्क्रिप्ट पनि पढेको थिएँ। तर, विदेश जानु पर्ने कार्यक्रमका कारण त्यति बेला म समय दिन सकिनँ,” जितु सम्झन्छन्। उनी अगाडि भन्छन्, “फिल्मका लेखक शंकर धितालसँग हामी अरू कथामा काम गरिरहेका थियौं। उहाँले ‘ज्वाइँ साब’को कथा फेरि उठेको र मलाई नै फिल्मका लागि छनोट गर्न लागेको बताउनुभयो। दोस्रो पटकको स्क्रिप्ट पढेपछि मलाई कथा निकै मन पर्यो।”
जितुले पहिलेको स्क्रिप्ट पढ्दा कथा स्पष्ट नबुझे पनि दोस्रो पटकको स्क्रिप्ट परिवर्तन भएको र आफूलाई मन परेको बताए। “पहिलो पटकको प्रस्ताव आएको ७ महिना पछि फिल्म बन्ने भयो। अहिले आएर फिल्म तयार भएको छ,” जितुले भने।
फिल्ममा आफ्नो चरित्रबारे कुरा गर्दै जितु भन्छन्, “मेरो चरित्र रमाइलो छ। ऊ जे चाहन्छ, त्यो पाउन उत्पात गर्छ, तर पाउँदैन। अनि ऊ हार मान्छ, तर पछि उसैको भागमा फेरी त्यही कुरा आउँछ।” उनले थपे, “फिल्मको कथा साधारण भए पनि दर्शकलाई फरक र मनोरञ्जनात्मक लाग्नेछ।”
टिजर र गीतमा जितुलाई बेहुला बनेर बेहुलीको घरमा भित्रिएको देखाइएको छ। “यो मेरो लागि नौलो अनुभव हो। सामान्यतया बेहुलीलाई बेहुलाको घरमा भित्र्याइन्छ, तर फिल्ममा ठीक उल्टो देखाइएको छ,” जितु भन्छन्। फिल्ममा यस्ता अनौठा तर रोचक पक्षहरू पनि छन्।
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्मको सुटिङ भइरहेको बेला एउटा दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त दृश्यमा सेतो पहिरनमा पासपोर्ट र बच्चा बोकेर हिँडिरहेका जितु र पछाडि नायिका निती शाहलाई देखाइएको थियो। यो दृश्य धेरैले फिल्म प्रमोसनको ‘फण्डा’ माने पनि जितुले यो बुझाइलाई गलत भने। “हामीले त्यो क्लिप सार्वजनिक गरेका होइनौं। सुटिङका लागि चाहिने दृश्य मात्र खिचेका थियौं, तर मानिसहरूले भिडियो र फोटो खिचेका रहेछन्,” उनी स्पष्ट पार्छन्।
जितुलाई ‘ज्वाइँ साब’मा आफूले निभाएको पात्र निकै मन परेको छ। “फिल्ममा अनावश्यक कुराहरू छैनन्, कथा सोसियल कमेडीको रूपमा सरर बगेको छ। दर्शकलाई दिक्क लाग्ने कुनै कुरा छैन,” जितु भन्छन्।
उनले दर्शकलाई फिल्म हेर्न आग्रह गर्दै भने, “हाम्रो फिल्म अहिलेका अन्य फिल्महरूभन्दा फरक छ। यो फिल्मले हाम्रो घर-परिवारमा हुने घटनाक्रम देखाउँछ, जसले दुःख र पीडा बिर्साउन र मनोरञ्जन दिन्छ।”
जितुले आफूलाई ‘हिरो’ मान्ने धारणा राखेनन्। “म कहिल्यै हिरो बन्छु भन्ने सोचेको थिइनँ, न त अरुले सोचेका थिए। म अहिले हिरो भएँ भने पनि म कमेडीमा नै छु। मलाई सुहाउँदो पात्र खडा गरेर कथा लेखिएको हुँदा म यस फिल्ममा नायक बनेको हुँ। तर, भविष्यमा पनि हिरोको भूमिका मात्र गर्ने योजना छैन। आफूलाई फिट हुने कुनै पनि भूमिका मैले निभाउँछु,” उनी भन्छन्।
‘ज्वाइँ साब’ले आफ्नो करियरमा महत्त्वपूर्ण भूमिका खेल्ने आशा जितुले राखेका छन्। “यस फिल्मले मेरो करियरमा कोशेढुंगा साबित हुनेमा म आशावादी छु, किनकि म सुहाउँदो भूमिकामा छु र कथा पनि राम्रो छ। निर्देशकले भनेअनुसार नै मैले अभिनय गरेको छु, म धेरै उत्साहित छु,” जितु बताउँछन्।
वसन्त निरौलाद्वारा निर्देशित ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ।
प्रतिक्रिया