‘ज्वाइँ साब’ हेर्दा दर्शकले भरपुर मनोरन्जन पाउनेछन् - बुद्धि तामाङ
कलाकार बुद्धि तामाङलाई धेरैजसो फिल्ममा प्रमुख पात्रको साथीको भूमिकामा देख्न सकिन्छ। चाहे साथीलाई सल्लाह दिनु होस् या प्रोत्साहन गर्नु, बुद्धिको उपस्थिति यस्ता भूमिकामा प्रायः महत्त्वपूर्ण देखिन्छ। यस असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’को भूमिकामा देखिनेछन्।
बुद्धिका अनुसार ‘ज्वाइँ साब’मा दर्शकले उनलाई मुख्य पात्र जितु नेपाललाई ‘प्रोत्साहन’ गर्ने चरित्रमा पाउनेछन्। “मैले जितु नेपाल दाइलाई सहयोग गर्ने, अघि बढ्न हौसला दिने भूमिका निभाएको छु,” बुद्धि भन्छन्।
फिल्मबारे बुद्धिको धारणा छ कि, यसले जसरी भए पनि दर्शकलाई मनोरञ्जन दिनुपर्छ। उनी भन्छन्, “फिल्ममा सामाजिक सन्देश, मन छुने र हास्यपूर्ण कथा छ। ‘ज्वाइँ साब’ हेर्दा दर्शकले भरपुर रमाइलो गर्न पाउनेछन्।”
फिल्मको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई मन पराउने युवाहरू विभिन्न प्रतियोगितामा सहभागी भएको देखाइएको छ, जहाँ बुद्धिले पनि भाग लिएका छन्। उनी भन्छन्, “यो असल ज्वाइँ बन्नका लागि चाहिने गुणहरूको खोजी गर्ने प्रतियोगिता हो, निकै रोचक छ तर भाग लिन कठिन।”
बुद्धिका अनुसार, कथा र चरित्रको हिसाबले ‘ज्वाइँ साब’ उनका अघिल्ला फिल्महरूभन्दा फरक छ। उनी दर्शकलाई केही नयाँ अनुभव दिने वाचा गर्छन्। “नयाँपनको अनुभव गर्न फिल्म हेर्नुपर्छ,” उनी थप्छन्।
निर्देशक वसन्त निरौलासँग यो बुद्धिको दोस्रो सहकार्य हो, पहिले ‘होलिडे’मा उनीहरू सँगै काम गरिसकेका छन्। जितु नेपालसँग बुद्धिले ‘वडा नम्बर’, ‘छक्का पन्जा’ श्रृंखला र ‘कार्साङ’मा पनि सहकार्य गरेका छन्।
‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्य लगायतका कलाकारहरूको अभिनय छ।
प्रतिक्रिया