‘छक्का पन्जा ५’को ट्रेलरमा मिश्रित प्रतिक्रिया, ओपनिङ कस्तो होला ?
असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘छक्का पन्जा ५’को ट्रेलर दुई दिन अगाडि रिलिजमा आयो । फिल्मको ट्रेलरमा हालसम्म ३ हजार बढी प्रतिक्रिया आएको छ । प्रतिक्रिया मिश्रित छ ।
कतिपयले यसलाई कमजोर भनेका छन् भने कतिपयले पहिलो शो नै यो फिल्म हेर्न जाने बताएका छन् । विशेषगरि, फिल्मको ट्रेलरलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको समयमा यसले कस्तो व्यापार गर्ला भन्ने चासो पनि आम मानिसहरूमा छ ।
उसो त, फिल्म रिलिज अगाडि ‘छक्का पन्जा’का हरेक सिरिज विवादित बन्ने गरेका छन् । पछि, फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेको उदाहरण छ ।
यसपटक भने, यो फिल्मलाई ‘१२ गाउँ र ज्वाइँ साब’को चुनौती पनि छ । केही हलमा देखिएको शोज बाँडफाँडलाई हेर्दा पनि ‘छक्का पन्जा ५’लाई अन्य दुई फिल्मले चुनौती दिइरहेका छन् ।
यसपटक, ‘छक्का पन्जा ५’लाई अघिल्लो सिरिजको जस्तो सहजता भने छैन । इनिसियल व्यापारमा पनि यो फिल्मलाई असर पर्ने देखिन्छ । लामो रेशको घोडा बन्नका लागि फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनुपर्ने हुन्छ ।
फिल्मलाई यसको गीतसंगीतले भने साथ दिएको छ । ‘ब्रेकअप’ बोलको गीतले रिलिजको १९ दिनमा नै १ करोड भ्यूज पाइसकेको छ । यो गीत भाइरल हुँदा फिल्मको प्रचारमा ठूलो फाइदा मिलेको छ ।
सामाजिक संजालमा यसपटक ‘छक्का पन्जा ५’लाई ‘१२ गाउँ’ले बढी चुनौती दियो । ‘छक्का पन्जा ५’कै ट्रेलरमा दर्शकले ‘१२ गाउँ’को बिषयमा बढी प्रतिक्रिया दिए । यो पनि ‘छक्का पन्जा ५’को टिमका लागि टाउको दुखाइको बिषय बनेको छ ।
विशेषगरि, यो फिल्म बक्स अफिसमा हिट वा फ्लप के हुन्छ भन्ने बिषयमा आम मानिसहरूको चासो होइन । चासो, फिल्मले अघिल्ला सिरिजको रेकर्डलाई तोड्छ या के गर्छ भन्नेमा बढी देखिएको छ ।
प्रतिक्रिया