फिल्म पाइरेसी भएपछि साइबर ब्यूरोमा निश्चलको उजुरी

फिल्म ‘बेहुली फ्रम मेघौली’का कलाकार तथा निर्माता निश्चल बस्नेतले साइबर  ब्यूरोमा उजुरी दिएका छन् । फिल्म रिलिज भएको दिनबाटै टिकटक र युट्युबमा पाइरेसीको मारमा परेको थियो । 

फिल्म पाइरेसी हुँदा निर्मातालाई लाखौ रुपैयाँ क्षति हुने गरेको छ । साथमा, विदेशी बजार र डिजिटल प्लेटफर्मको व्यापारमा समेत यसले असर पारेको छ । 

निश्चलले साइबर ब्यूरोमा उजुरी दिँदै पाइरेसी गर्ने एकाउन्टहरूलाई सस्पेन्ड गर्न आग्रह गरेका छन् । सोमबार उजुरी दिँदै निश्चलले पाइरेसी दिने एकाउन्टहरूलाई ब्लक गर्न पनि आग्रह गरेका छन् । 

साइबर ब्यूरोले निश्चलको उजुरीलाई गम्भीर रुपमा लिने बताएको छ । निश्चलका अनुसार, पाइरेसीको कानुन नै यो विषयमा आकर्षित हुने भन्दै आफूले ब्यूरोबाट पूर्ण सहयोगको प्रतिवद्धता पाएको बताएका छन् । 

असोजको १७ गतेबाट रिलिजमा आएको यो फिल्मले बक्स अफिसमा तीन दिनमा २ करोड २५ लाखको व्यापार गरिसकेको छ । तर, फिल्मको महत्वपूर्ण दृश्य, क्लाइमेक्स नै पाइरेसीको मारमा परेपछि निर्माणपक्षले ब्यूरोमा उजुरी दिएको हो । 

साजन काफ्ले र आकाश बरालको निर्देशनमा तयार भएको यो फिल्मले ३० बर्षको उमेर पुगेकी एक युवतीको बिहेका लागि गरिएको संघर्षको कथा भन्छ ।