‘बलुन फेस्टिभल’को गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

हाल फिल्म ‘नरसिंहाः अवतार’को छायांकनमा व्यस्त नायक राजेश हमाल ‘अन्तराष्ट्रिय बलुन फेस्टिभलको गुडविल एम्बेस्डरमा’ अनुबन्धित भएका छन् । उनीसँगै नायिका प्रियंका कार्कीलाई काठमाडौंमा आयोजित एका कार्यक्रममा गुडविल एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको घोषणा गरियो । 

कार्यक्रममा नायक हमालले २५ बर्ष अगाडि काठमाडौंमा बलुनमा उडेर फिल्म छायांकन गरेको अनुभव सुनाएका थिए । साथै, उनले नयाँ फिल्ममा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको बताए । यो महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत हमालको विश्वास छ । यस्तै, नायिका प्रियंका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको बताइन् ।

बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वास उनको थियो । बलुन नेपाल प्रा.लिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पोखरामा पहिलो पटक यो महोत्सव आयोजना हुन लागेको हो ।

आगामी पुष ९ गतेदेखि १६ गतेसम्म यो महोत्सव आयोजना गर्न लागिएको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ ।

जसमा बलुन नेपालको तर्फबाट ५ वटा हट एयर बलुन संचालन गरिनेछ । महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ ।