‘बेहुली फ्रम मेघौली’को तीन दिनको ग्रस २ करोड २५ लाख

वितरण कम्पनी डीसीएनले बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा २ करोड २५ लाख ग्रस कलेक्शन गरेको जानकारी दिएको छ ।

डीसीएनका प्रमुख अशोक शर्माका अनुसार, ३३५ पर्दामा एकसाथ रिलिजमा आएको फिल्मले पहिलो दिन ८० लाखको ग्रस कलेक्शन गरेको थियो । शुक्रबार फिल्मको व्यापारमा केही गिरावट आयो । शनिबार फिल्मले ९४ लाखको व्यापार गरेको छ । 

तीन दिनमा सुखद कमाई गरेको फिल्मले दशैंको बिदामा पनि उत्साहजनक व्यापार गर्ने आँकलन अशोक शर्माको छ । 

शनिबार काठमाडौंका विभिन्न हलमा पुग्दा निर्मात्री तथा नायिका स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निश्चल बस्नेत उत्साहित देखिए ।

दर्शकहरुबाट सकारात्मक वर्ड अफ माउथ पाएका कारण लामो समयसम्म  फिल्म हलमा लाग्ने उनीहरुको भनाई थियो । तर, निर्माता निश्चल बस्नेतले फिल्मको दृश्यहरु टिकटकमा सार्वजनिक भएकोमा भने असन्तुष्टि जनाए । उनले, आफूहरूले साइबर ब्यूरोसँग यो बिषयमा कुराकानी गरेको जानकारी दिए । 

साजन काफ्ले र आकाश बरालको निर्देशनमा तयार भएको फिल्मले ३० बर्ष उमेर पुगेकी छोरीको बिहेको कथा भन्छ । दर्शकले फिल्मको क्लाइमेक्सको दृश्यलाई अत्याधिक रुचाएका छन् ।