‘कमेडी दरबार’सँग प्रदिप, आना र दिव्याको नेपाल टुर

कार्तिकको १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टरः टेक वान’ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा प्रचारात्मक टुर आयोजना गर्ने भएको छ । यो टुर काठमाडौं बाहिर मुख्य ६ शहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगञ्ज, दाङ र पोखरामा हुनेछ ।

कार्तिकको १ गतेदेखि सुरु हुने टुर ७ गतेसम्म चल्नेछ । कार्तिकको १ गते इटहरीबाट सुरु हुने टुर २ गते चितवनको नारायणगढ, ३ गते रुपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगञ्ज, ५ गते दाङको तुलसीपुर र अन्तिम कार्यक्रम ७ गते कास्कीको पोखरामा आयोजना हुनेछ । फिल्मका निर्माता थमन कुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिइने जानकारी दिए ।

यी सबै कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझीको पनि प्रस्तुति रहनेछ । यो फिल्ममा राजवल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरुको पनि अभिनय छ । राजन भुसालको निर्देशनमा तयार भएको फिल्ममा आकाश बराल र राजन भुसालको लेखन छ । 

अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा तयार भएको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, हुर्कलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन छ ।