‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ रिलिज
कार्तिकको १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक यो गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत र स्वर छ । गीतले मुख्य पात्रहरूको जीवन कथालाई उठान गरेको छ ।
विशेषगरि, गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, अन्जना बराइली र बाल–कलाकार स्वायम् केसीको अभिनय हेर्न सकिन्छ ।
गीतमा पूर्ण बहादुरले श्रीमतीले छाडेपछि गाउँगाउँ सारङ्गी बजाउँदै आफ्नो पीडा सुनाइरहेको हेर्न सकिन्छ । भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाएको दृश्य पनि प्रस्तुत गरिएको छ । यो फिल्मको ‘काँधेकुरी र दाहिने हातैमा’ बोलको गीत पनि सार्वजनिक भइसकेको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रकाश सपुत, मुकुन भुसाल, वुद्दि तामाङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
सेभेन सिज र बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी छ । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल फिल्मका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया