हलमा पाइरेसी बढेपछि बोर्डले दियो चेतावनी

बिहिबारदेखि हलमा रिलिज भएको फिल्म ‘बेहुली फ्रम मेघौली’का दृश्यहरु सामाजिक संजाल टिकटकमा छ्याप्तछ्याप्ती भेट्न सकिन्छ । हलमा फिल्म हेर्न पुगेका दर्शकहरुले फिल्मका अधिकांश दृश्य खिचेर अपलोड गरिरहेका छन् । 

यसरी अनधिकृत रुपमा फिल्मको पाइरेसी गर्नु अपराध हो भन्ने कुराको चेतना आम मानिसहरूमा नपुग्दा यस्तो अवस्था आइरहेको छ । 

यसैबिच, चलचित्र विकास बोर्डले यसरी अनधिकृत रुपमा फिल्मको पाइरेसी नगर्न चेतावनी दिएको छ । बोर्डले भनेको छ–‘अर्काको सिर्जना तथा सम्पत्तिको गैह्र कानुनी रुपमा विभिन्न डिजिटल माध्यमहरुमा अपलोड गर्नु कानुनी रुपमा दण्डनीय अपराध हो । यदि, कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली २०६१ अनुसार त्यस्तो कामको प्रयोग गरिएका उपकरण जफत हुनुका साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत ब्यहोर्नुपर्ने हुन्छ ।’

बोर्डले एक सूचना जारी गर्दै फिल्म तथा फिल्म जन्य सिर्जनाहरूको अनधिकृत रुपमा कहिल्यै पनि प्रयोग नगर्न आग्रह गरेको छ । 

हलमा फिल्म सुरु हुनु अगाडि चलचित्र विकास बोर्डले तयार पारेको पाइरेसी सम्बन्धी जनचेतनामुलक भिडियो पनि प्रदर्शन गर्ने गरिन्छ । तर, यस्ता खालका सामाग्रीले पनि दर्शकहरुलाई सचेत गराउन नसकेको पाइएको छ ।