१२ गाउँको चर्चाबिच विराजले भने–‘साइबर सेनाको कुरा मिडियाबाट सुनेँ’

असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘१२ गाउँ’का मुख्य नायकद्धय विराज भट्ट र उनका छोरा समीर भट्ट पहिलो पटक मिडियामा देखिए । 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यी दुईले फिल्मको बिषयमा लामै कुराकानी गरे । विशेषगरि, यो फिल्मको प्रचार सामाग्री सार्वजनिक भएपछि दर्शकको उत्साहजनक प्रतिक्रिया आइरहेको छ । फिल्मको टिजर, ट्रेलर र गीतलाई लिएर दर्शकले देखाएको उत्साहजनक प्रतिक्रियाले फिल्मका निर्देशक तथा नायक विराज भट्ट र नायक समीर भट्ट उत्साहित देखिए । 

कतिपयले भने विराजले फिल्म प्रचारका लागि साइबर सेना प्रयोग गरेको आरोप पनि लगाइरहेका छन् । यो विषयमा मिडियाको प्रश्नमा विराजले भने–‘साइबर सेना भनेको त मैले तपाइहरुबाट नै सुनेको हो । लोकप्रिय मानिसहरूको फ्यानहरु हुन्छ । यसरी हेर्नुभयो भने त, यहाँ धेरैको साइबर सेना मात्र हुन्छ । बालेनजी, राजेश हमाल दाई, साहरुख–सलमान खानले पनि साइबर सेना नै बनाएका रहेछन् भन्नुपर्यो बुझ्नुपर्यो ।’

विराजले आफूहरूले योजना बनाए अनुसार, दर्शकले साथ दिएको भन्दै सबैलाई धन्यवाद दिए । विराजले भने–‘म एउटा फिल्म बनाएर पैसा कमाई हालौँ भनेर अगाडि बढेको होइन । नेपाली फिल्मलाई नयाँ तहमा लैजानुपर्छ भन्ने मेरो योजना हो ।’

यता, नायक समीर भट्टले आफूले नेपाली फिल्ममा काम गर्ने सोच बनाएर अगाडि बढेको बताए । तर, अहिले आफूले ‘१२ गाउँ र बलिदान’मा काम गर्ने पक्का भएको उनको भनाई छ । 

समीरले दर्शकबाट पाएको उत्साहजनक प्रतिक्रियाले आफू खुशी भएको बताए ।