एक्सन फिल्म निर्माणमा तिव्रता, तर फर्किन सकिरहेका छैनन् दर्शक

बलिउड फिल्म ‘एनिमल’ रिलिज भएपछि नेपाली फिल्म मेकरमा एक्सन फिल्म बनाउने दौड चलिरहेको छ । केही साउथ र केही बलिउडका एक्सन फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाई गरेपछि नेपाली मेकरमा पनि लोभ पलाएको हो । उसो त, कुनै समय विराज भट्ट, निखिल उप्रेती, रेखा थापा चलेको समयमा नेपाली फिल्मले एक्सनलाई नै प्राथमिकता दिएको थियो । 

एक्सन फिल्म निर्माणमा लोभिएका नेपाली निर्माताहरूले महँगो रकम पनि खर्च गरिरहेका छन् । गतबर्ष रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले पनि एक्सन फिल्म निर्माणमा अझै जोस भरिदिएको हो । यो फिल्मले औषत कमाई गरेपनि नेपाली मेकरले भने एक्सन फिल्म निर्माणलाई तीव्रता दिइरहेका छन् । 

तर, एक्सन फिल्मले नेपाली दर्शकलाई हलमा फर्काउन भने सकिरहेका छैनन् । अझै पनि लभस्टोरी र सामाजिक कथामा नै दर्शकको मन बढी बसेको देखिन्छ । 

यो बर्ष नै रिलिजमा आएका फिल्म ‘दान्भी, रावायण’ले दर्शक फर्काउन सकेनन् । गतबर्ष रिलिजमा आएको फिल्म ‘रंगेली’ले पनि निराशाजनक व्यापार गर्यो । 

बरु, सामाजिक कथामा बनेका ‘डिग्री माइला, मनसरा, बोक्सीको घर, पुजार सार्की, गाउँ आएको बाटो, घर ज्वाइँ’ लगायतले नै बक्स अफिसमा कमाई गरे । 

तर, यो बर्ष एक्सन प्रधान फिल्मको निर्माण भने धमाधम भइरहेको छ । निर्देशक कृषा चौलागाईंले महँगो बजेटमा फिल्म ‘पिताम्बर’ बनाइरहेकी छिन् । यो फिल्मको हाल धमाधम छायांकन भइरहेको छ । फिल्म पूर्ण रुपमा एक्सन केन्द्रित छ । 

फिल्म ‘नरसिंहाः अवतार’को पनि हाल धमाधम छायांकन भइरहेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भइरहेको यो फिल्ममा नायक राजेश हमाल मुख्य भूमिकामा छन् । यो फिल्मलाई पनि एक्सन जनरामा निर्माण गरिदैछ । 

यस्तै, फिल्म ‘बलिदान’ पनि महँगो बजेटमा निर्माण भइरहेको छ । जसलाई निर्देशक सन्तोष सेनले एक्सनमा केन्द्रित राखेर बनाइरहेका छन् । 

फूलपातीको दिनबाट रिलिजमा आउन लागेको फिल्म ‘१२ गाउँ’ पनि पूर्ण रुपमा एक्सन प्रधान फिल्म हो । फिल्मको ट्रेलरले पनि यसको जनरा बताउँछ । 

एक्सन प्रधान फिल्ममा मेकरले महँगो लगानी गरिरहँदा रिलिजमा आइसकेका यस्ता फिल्मबाट दर्शक खुशी देखिएका छैनन् । यसैले, रिलिज हुन लागेका र निर्माण भइरहेका एक्सन केन्द्रित फिल्मका मेकरलाई चुनौती भने बाक्लो छ ।