त्रिपक्षिय भिडन्तको लहड

यो बर्ष नेपाली बक्स अफिसमा भिडन्तको लहर नै चलेको छ । अझ, यो वर्ष एकसाथ ३–३ वटा फिल्म जुधिरहेका छन् । 

जेठको १० गते तीन फिल्मको भिडन्त पक्का भएको थियो । ‘दान्भी, फर्की फर्की र पुजार सार्की’ जुध्न तयार भएका थिए । तर, ‘दान्भी’ पछि सर्दा ‘फर्की फर्की र पुजार सार्की’ एकसाथ रिलिजमा आए । यसले, दुबै फिल्मलाई कुनै न कुनै तबरबाट घाटा भयो ।  

असोजको ३ गते तीन फिल्मको प्रदर्शन मिति पक्का भएको थियो । ‘खुस्मा, ह्रस्व दीर्घ र आउट ल’ जुध्न तयार भएका थिए । तर, पछि ‘खुस्मा’ मात्र सोलो रिलिज भयो । 

असोजको २४ गते त्रिपक्षिय भिडन्त पक्का छ । यो मितिमा ‘छक्का पन्जा ५, १२ गाउँ र ज्वाइँ साब’ रिलिज हुने पक्का भइसकेको छ ।  यो त्रिपक्षिय भिडन्तमा कुन फिल्मले बाजी मार्ने हो, हेर्न बाँकी छ । तर, दशैंको बिदाको मौका छोपेर एउटा फिल्ममाथि अर्को थुप्रिदा फिल्म क्षेत्रलाई नै घाटा लाग्ने टिप्पणी भइरहेको छ । 

कार्तिकको ३० गते पनि त्रिपक्षिय भिडन्तको लहडमा निर्माताहरु छन् । यो मितिमा ‘ह्रस्व दीर्घ, केटी हराएको सूचना र बम बहादुर’ रिलिज हुँदैछन् । असोेज ३ मा अन्य दुई फिल्म एकसाथ आएपछि पोष्टपोन्ड भएको ‘ह्रस्व दीर्घ’ले कार्तिकको ३० गते पनि त्रिपक्षिय भिडन्त गर्नुपर्ने देखिएको छ । 

कार्तिकको १५ गते पनि तीन वटा फिल्म नै रिलिजको तयारी थियो । ‘मायाबी, एक्टर र पूर्णबहादुरको सारंगी’ यो मितिमा रिलिजका लागि तयार थिए । तर, ‘मायाबी’ पोष्टपोन्ड भएपछि यो मितिमा दुई वटा नेपाली फिल्म मात्र रिलिज हुँदैछन् । 

मंसिरको ७ गते फिल्म रिलिजको सूची अझै उदेकलाग्दो छ । यो मितिमा ४ वटा फिल्म रिलिज हुने पक्का भइसकेको छ । यो मितिमा ‘तेल भिसा, अग्नीदहन, सारंग र देववाणी’ रिलिज हुने पक्का भइसकेको छ । यो मितिमा ४ वटा फिल्म रिलिज गर्ने निर्णय किन गरियो, निर्माता आफैलाई पनि थाहा छैन होला । 

यस्तै, त्रिपक्षिय भिडन्त फागु पूर्णिमामा पनि हुँदैछ । फागू पुर्णिमाको अवसरमा ‘नरसिंहाः अवतार, होस्टेल ३ र लाज शरणम्’ रिलिज हुँदैछन् । हाल, यी तिनै फिल्मको धमाधम छायांकन भइरहेको छ ।

यो बर्ष त्रिपक्षिय भिडन्तको लहड निर्मातामा लामो देखिएको छ । अझ, एकसाथ दुई फिल्म रिलिजको सूची त लामो नै छ । एकसाथ फिल्म जुध्दा बक्स अफिसमा कस्तो असर पर्छ भन्ने उदाहरण यसअघि रिलिजमा आइसकेका फिल्मले देखाइसकेका छन् । तर, पनि निर्माताहरुले पाठ सिकेका छैनन् ।