बेहुली फ्रम मेघौलीलाई उच्च शो, ओपनिङ कस्तो होला ?

बिहिबार घटस्थापनाको दिनदेखि रिलिजमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’लाई देशभरका मल्टिप्लेक्सहरुले उच्च शो उपलब्ध गराएका छन् । 

यो फिल्मको बूकिङ सोमबार बेलुकीदेखि खुलेको हो । निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मको हाइप पनि उच्च रहेकाले मल्टिप्लेक्स संचालकहरु आशावादी देखिएका छन् । फिल्मको गीतसंगीत र ट्रेलरले हाइप राम्रो पाइरहेको छ । जसको प्रभाव फिल्मको बक्स अफिसमा पर्न सक्छ । 

यो फिल्मलाई क्यूएफएक्स चेनले देशभरका हलमा ७३ शो उपलब्ध गराएको छ । उपत्यकामा ३२ शो पाएको फिल्मले मोफसलमा ४१ शो पाएको छ । 

यस्तै, वान सिनेमाज्ले नयाँ बाँनेश्वर र कालिमाटीमा गरि ९ शो उपलब्ध गराएको छ । आइएनआई सिनेमाजले आफ्नो चेनमा १४ शो फिल्मलाई उपलब्ध गराएको छ । 

वीग मुभिजले ६ शो दिँदा एफक्यूबले ७ शो दिएको छ । यसैले, देशभर पाएको उच्च शोको फाइदा फिल्मले उठाउन सकेको खण्डमा ओपनिङ सुखद हुन सक्छ । 

साजन काफ्ले र आकाश बरालको निर्देशनमा तयार भएको यो फिल्ममा बसुन्धारा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतका कलाकारहरुको अभिनय छ । 

यो फिल्मले उमेर पुगेकी छोरीको बिहेका लागि हुने गरेका विभिन्न घटनाक्रमहरूलाई रोचक तरिकाले देखाएको छ ।