फिल्मको प्रेसमिटका लागि बोर्डले २ घन्टा निःशुल्क हल उपलब्ध गराउने

चलचित्र विकास बोर्डले फिल्म सम्बन्धी कार्यक्रमका लागि मेकरलाई २ घन्टा निःशुल्क हल उपलब्ध गराउने भएको छ । विकास बोर्डको अध्यक्ष पदमा दिनेश डीसी आएसँगै विभिन्न सुधारका काम भइरहेको छ । 

यही बिचमा बोर्डले, विकास बोर्डको हलमा फिल्मको पत्रकार सम्मेलनका लागि हल उपलब्ध गराउने भएको हो । 

बोर्डका सदस्य रवि अधिकारीका अनुसार, फिल्मको गीत, ट्रेलर, टिजर, पोस्टर लगायतका प्रचार सामाग्री सार्वजनिक गर्नका लागि आयोजना गरिने पत्रकार सम्मेलनका लागि बोर्डले निःशुल्क हल उपलब्ध गराउन लागेको हो । कुनै अवार्ड, प्रिमियरका लागि भने हल निःशुल्क उपलब्ध नहुने अधिकारीको भनाई छ । 

मेकरले आफ्नो कार्यक्रम २ घन्टा भित्र सक्नुपर्नेछ । २ घन्टा भन्दा लामो कार्यक्रम भएको खण्डमा भने निर्माताले रकम तिनुपर्नेछ । 

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएसँगै दिनेश डीसीले सुधारका विभिन्न कामहरू गरिरहेका छन् । उनले, बोर्डको हलमा समेत थुप्रै परिवर्तन गर्ने बताएका थिए ।