‘बलिदान’को फाइट सिनको छायांकन सुरु
आसुसेन फिल्म्स प्रा.ली. र सन्तोष सेनको प्रस्तुति रहने फिल्म ‘बलिदान’को एक्सन दृश्यहरूको छायांकन सुरु भएको छ।
यो फिल्मका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले खिच्न सुरु गरेका छन् । सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्ता सफल फिल्ममा एक्सन निर्देशन गरिसकेका छन् ।
केही दिनदेखि नेपालका पूर्वी क्षेत्र इटहरी लगायतका स्थानहरूमा छायांकन भइरहेको यो फिल्मका निर्देशक सन्तोष सेनका अनुसार, अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरूको छायांकन सुरु गरिएको हो।
यो फिल्मका मुख्य कलाकार समीर भट्टले पनि केही दिनमा आफ्नो भागको एक्सनको छायांकन गर्ने निर्माता सेनले बताए। यो फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सह-निर्माताको भूमिकामा रहेका छन् ।
नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय, र समाजका तथाकथित नाइकेहरूको विरुद्ध बलिदान दिनुपर्ने कथामा आधारित रहेको यो फिल्ममा समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ ।
प्रतिक्रिया