‘बेहुली फ्रम मेघौली’को विदेश राइट्स धमाधम बिक्रि हुँदै

दशैंको घटस्थापनाबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ । अमेरिका राइट्स बिक्रि भैसकेको यो फिल्मको अष्ट्रेलिया, युरोप र मध्येपूर्वका देशहरुमा प्रदर्शन अधिकारको लागि कुरा भइरहेको र केही दिनमा टुङ्गो लाग्ने निर्माणपक्षले जानकारी दिएको हो ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनिले खरिद गरेको हो । नेपाल सँगै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढि शहरमा एकसाथ प्रदर्शन हुनेछ ।

सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माणमा अभिनेत्री खड्कालाई निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । यो फिल्मको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीलगायतको अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी रहेको फिल्मको कास्टिङ डिरेक्टरमा अभिनेता विजय बराल छन् । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।