ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज भयो ‘प्रेमगीत ३’

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म ‘प्रेमगीत ३’ नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । नेपाली र हिन्दी भाषामा हलमा यसअघि प्रदर्शन भएको यो फिल्मलाई सिनेमाघरमा भने नेपाली भाषामा हेर्न सकिनेछ। 

यो फिल्म हलमा रिलिज भएको एक वर्षपछि सिनेमाघरमा रिलिज गरिएको हो । फिल्मलाई २०७९ सालको दशैंमा हलमा रिलिज गरिएको थियो । सेनले फिल्म निर्देशनमा स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् भने यो फिल्मको कथा पनि निर्देशक गुरुङकै हो ।  

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

यो फिल्म रिलिजसँगै सिनेमाघरले नयाँ अपडेट पनि ल्याएको छ। यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्महरुबाट मात्र हेर्न सकिने सुविधा रहेकोमा अब ल्यापटप र डेस्कटपमा वेब ब्राउजरमार्फत पनि फिल्म हेर्न सकिनेछ । साथै, अब फोनपे क्युआर कोडमार्फत नेपाल तथा भारतबाट सजिलै रकम भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध गराइएको हो ।