‘कल्ली’मा अर्पण, बुद्धि र कमलमणि नेपालको इन्ट्री

किरण नेपालीको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘कल्ली’मा कलाकारहरु अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन्। यो फिल्मका लागि निर्माणपक्षले यसअगाडि नायक पल शाहको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको थियो ।  

निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने यो फिल्मको लागि निर्माणपक्षले अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल सँग लिखित सम्झौता गरिसकेको छ । यो फिल्म यही वर्षको चैतको २९ गते रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ ।

पौराणिक कथामा निर्माण हुन लागेको यो फिल्मको छायांकन आगामी तिहारपछि सुरु गरिनेछ। फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।

रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । यो फिल्मको निर्माण प्रमुख सुरज आचार्य हुन् । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि चर्चामा रहेका निर्देशक लक्ष्मणले यो फिल्ममा केही फरक गर्ने बताए ।