‘ज्याक’ छायांकनका लागि काठमाडौं आइपुगे साउथ स्टार प्रकाश राज

चर्चित भारतीय अभिनेता प्रकाश राज काठमाडौं आइपुगेका छन् । साउथ इण्डियन फिल्म ‘ज्याक’ छायांकनका लागि उनी शनिबार काठमाडौं आइपुगेका हुन् । 

आइतबार बाट छायांकन सुरु हुने यो फिल्मको लागि उनी भिस्तारा एयरलाइन्सको विमानबाट दिल्ली हुँदै अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

यो फिल्मको छायांकन ५ दिनदेखि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भैरहेको छ । यो फिल्म छायांकनको लागि उनी १० दिनसम्म काठमाडौंमा रहने जनाइएको छ। 

निर्देशक बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको नेपालमा सुरज आचार्य, अरुण रेग्मी र सुुरेश अधिकारीको कम्पनी थ्री ह्विलर्सले व्यवस्थापनको जिम्मा लिएको छ । त्यस्तै, यो फिल्म निर्माण व्यवस्थापकमा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा र मनोज जोशी छन् ।

वेंकटेश्वर सिने चित्रले निर्माण गरिरहेको यो फिल्मको ८० प्रतिशत छायांकन पुरा भएको र अझै २० दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिने अध्यक्ष लामाले बताए ।